इन्द्रेणी संवाददाता
तुलसीपुर, २७ भदौ । चारवर्षको अवधिमा आन्तरिक राजस्व कार्यालय तुलसीपुरको राजस्व दोब्वर भएको छ । सेवा ग्राहीहरुमा राज्यबाट सेवा सुविधा लिएपछि कर तिर्नुपर्छ भन्ने सचेतना वढ्दै गएपछि वर्षेनी राजस्वमा बृद्धि आएको आन्तरिक राजस्व कार्यालय तुलसीपुरले जनाएको छ ।
आर्थिक वर्ष २०६९÷७० मा ४६ करोड रुपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयले चारवर्षको अन्तर अर्थात आर्थिक वर्ष २०७२÷७३ मा दोब्वर गर्दै ९६ करोड ४४ लाख राजस्व संकलन गरेको छ । कर अधिकृत भागिराम केसीका अनुसार गएको आव २०७२÷७३ मा वार्षिक लक्ष ८९ करोड भएपनि लक्षभन्दा वढी झण्डै ७ करोड राजस्व संकलन भएको छ ।
त्यस्तै कार्यालयले आव २०७०÷७१ मा ६० करोड, आव २०७१÷७२ मा ७४ करोड ७० लाख राजस्व संकलन गरेको थियो । वर्षेनी राप्तीको राजस्व संकलनको अनुपातमा बृद्धि हुँदै गएको र अझै पनि धेरै करदाताहरु करको दायराबाट वाहिर रहेकाले उनीहरुलाई करको दायरामा ल्याउने प्रयास भइरहेको आन्तरिक राजस्व कार्यालय तुलसीपुरका निमित्त प्रमुख बासु नेपालले बताउनुभयो ।
‘व्यवसाय गरेका छन् तर अझै जानी नजानी धेरै करदाताहरु करको दायरामा आउन सकेका छैनन्, उनीहरुलाई करको दायरामा ल्याउन सचेतीकरणको अभियान सञ्चालन गरेका छौं’, नेपालले भन्नुभयो ।
कार्यालयले गएको आवमा मात्रै २ करोड बक्यौता रकम असुली गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७३÷७४ मा १ अर्ब ९ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । वर्षेनी लक्षभन्दा वढी नै राजस्व संकलन हुँदै आएकाले चालु आवमा पनि वार्षिक लक्षभन्दा वढी नै राजस्व संकलन हुने कार्यालयले अपेक्षा गरेको छ ।











