दाङ, भदौ १७ ।
जिल्ला वन कार्यालयको गस्ति टोलीले दाङमा सालको अवैध चिरान काठ ओसारपसारमा प्रयोग गरिएका तीन वटा मोटरसाइकल सहित सालको काठ बरामद गरेको छ । देउखुरीको राप्ति नदी पारिबाट लमही तर्फ ल्याउदै गरेको अवस्थामा तीन वटा मोटरसाइकल र १४ क्यूफिट सालको काठ बरामद गरेको सहायक वन अधिकृत हरिप्रसाद गौतमले जानकारी दिनुभयो ।jilla ban dang

गएराती डेढ बजे राप्ति नदी पुल नजिक मोटरसाइकलमा ल्याउदै गरेको १४ थान सालको चिरान काठ बरामद गरेको हो । सहायक वन अधिकृत गौतमका अनुसार तीन वटा मोटरसाइकलपछि साइकलको ट्यूवले बाधेर ल्याउदै गरेको अवस्थामा काठ र मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

मोटरसाइकलमा काठ ओसारपसार गर्ने तीन जना भने गस्ति टोलीलाई देखेर मोटरसाइकल छोडी भागेकाले पक्राउ गर्न नसकिएको गौतमले बताउनुभयो । पक्राउ गरिएको काठ र काठ ओसारपसार गर्न प्रयोग गरिएको लु १९ प ४३२७, लु २१ प ४८०१ र रा २ प १६२२ मोटरसाइकल जिल्ला वन कार्यालयमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला वन कार्यालय दाङले जनाएको छ ।।