tribhuwan univercityकाठमाडौँ, ५ भदौ ।   त्रिभुवन विश्वविद्यालयले मातहतका विभिन्न अनुसन्धान केन्द्रलाई प्रभावकारी बनाउन पहल सुरु गरेको छ ।

मुलुककै ठूलो र जेठो विश्वविद्यालयमा अनुसन्धानका क्षेत्रमा अपेक्षित प्रगति हुन नसकेको सन्दर्भमा अब त्यस्ता केन्द्रको कार्यकारी निर्देशक नियुक्तिमै नयाँ र कडा मापदण्ड बनाई प्रभावकारी बनाउन लागिएको हो ।

विश्वविद्यालयले राजनीतिक भागबन्डा निरुत्साहित गर्दै सहप्राध्यापक वा प्राध्यापकमध्येबाट ती केन्द्रमा हुँदै आएका नियुक्तिको प्रक्रियामा सुधार ल्याएको छ ।

नयाँ मापदण्डमा सम्बन्धित उम्मेदवारले तोकिएको समयमा अवधारणापत्रसहित कार्यकारी निर्देशकका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको शिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठीले जानकारी दिँदै सोही आधारमा मूल्याङ्कन हुने बताउनुभयो ।

केन्द्रका प्रमुखले आफूले नियुक्ति भएपछि गर्ने अनुसन्धानका कामको योजना पेस गर्ने व्यक्ति विद्यावारिधि उपाधि प्राप्त र प्राध्यापक हुनुका साथै अनुसन्धान केन्द्रको सम्बन्धित विषयगत अध्ययन गरेको हुनुपर्नेछ ।