भक्तपुर ५ भदौ । कक्षा ११ का लागि विषय थप गर्न चाहने विद्यालयलाई लक्षित गरी शिक्षा विभागले पुनः समय थपेको छ ।
विषय थप गर्न चाहने उच्च माध्यमिक विद्यालयले साउन २५ गते सम्म आवेदन दिन पाउनेमा अब भदौ १० गते सम्म निवेदन दिन सक्ने गरी विभागले म्याद थपेको हो ।
यसै बर्ष कक्षा ११ को अनुमति पाएका विद्यालय, प्रयोगशाला आवश्यक पर्ने विषय, संकाय नै थप गर्ने गरी तथा कक्षा ११ र १२ मात्र सञ्चालन गरेका शैक्षिक संस्थाहरु बाहेकका संस्थाले निवेदन दिन सक्ने विभागले जनाएको छ ।
आउँदो आईतबार अर्थात् भदौ ५ गतेबाट निवेदन दिन सकिने छ । निवेदन दिदाँ विषयगत शिक्षकले न्यूनतम ३ बर्ष सम्म पढाउने बारेमा गरेको कवुलियतनामा समेत पेश गर्नु पर्ने छ ।
विषयगत शिक्षकको स्नताकोत्तर उत्तीर्ण शैक्षिक योग्यताको प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्र पनि बुझाउनु पर्ने छ । यसका अलावा सम्बन्धित जिल्ला शिक्षा कार्यालयको सिफारिस, विषय खुलेको पत्र र निजी विद्यालयको हकमा विद्यालय ब्यवस्थापन समितिको निर्णय पनि समाबेश गर्नु पर्ने विभागले जनाएको छ ।