काठमाण्डौ, ३२ साउन
काभ्रेको विर्तादेउरालीमा हिजो भएको दुर्घटनामा मृत्यु भएकाका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । सोही कारण बनेपास्थित शिर मेमोरियल अस्पताल र्पुयाईएका २६ शवको पोष्टमार्टम हुन सकेको छैन । प्रहरीले दोषीलाई कारवाही गर्ने सुनिश्चित नगरीकन शव बुझेको व्यहोराको मुचुल्का तयार पारेकाले अस्वीकार गरेको मृतकका आफन्तले बताएका छन् ।
१२ जनाको मुचुल्का तयार भइसकेकोमा ‘व्यवसायीलाई बचाउने खालको’ व्यहोरा उल्लेख गरेको भन्दै आक्रोशित आफन्तले मुचुल्का च्यातेका थिए । प्रहरी प्रशासनले दोषीलाई कारवाही गर्ने प्रतिवद्धता गरी व्यवसायीसँग वार्ता नगरेसम्म पोष्टमार्टम गर्न नदिने अडान पीडित परिवारले राखेका छन् । मृतकका आफन्त, व्यवसायी र राजनीतिक दलहरु जिल्ला प्रशासन कार्यलयमा अहिले वार्तामा जुटेका छन् । विर्तादेउरालीमा हिजो यात्रुबस दुर्घटनामा हुँदा २७ जनाको मृत्यु भएको थियो ।
२६ जनाको घटनास्थलमै र एक जनाको काठमाडौंमा उपचारका क्रममा गएराती मृत्यु भएको हो । यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुर्घटनाका घाइतेलाई भेट्न धुलिखेल अस्पताल पुग्नुभएको छ । घाइतेमध्ये धुलिखेल अस्पतालमा उपचाररत ६ जनालाई भेटी उनीहरुको स्वास्थ्य अवस्थाबारे ओलीले जानकारी लिनुभएको थियो । सो क्रममा ओलीले घाइतेको उपचारको उचित व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिसकेको जानकारी दिनुभएको थियो ।।











