साउन ३२ यमन । यमनमा एक परोपकारी संस्थाले सञ्चालन गरेको अस्पतालमा हवाई आक्रमण भएको छ ।
परोपकारी संस्था मेडिसिन सान्स फ्रोन्टियर्स एमएसएफले यमनको उत्तरी क्षेत्रमा सञ्चालन गरेको अस्पतालमा हवाई आक्रमण हुँदा कम्तिमा ११ जनाको ज्यान गएको छ ।
हज्जाह प्रान्तमा रहेको अस्तालमा भएको आक्रमणमा अन्य १९ जना घाइते भएको एमएसएफलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्ध सेनाले हवाई आक्रमण गरेको अनुमान छ । गठबन्धन सेनाले हुथी बिद्रोही विरुद्धको कारबाहीमा यमनको सरकारलाई सहयोग गर्दै आएको छ ।
गठबन्धनले यस विषयमा अहिलेसम्म केही बताएको छैन । त्यसक्षेत्रमा गएको केही दिनदेखि हवाई आक्रमण भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । फेरि आक्रमण हुन सक्ने डरका कारण उद्धार तथा राहतको काम पनि प्रभावित भएको छ । आक्रमणमा ज्यान जानेमा एमएसएफका कर्मचारी तथा अस्पतालमा उपचाररत बिरामी छन् ।
यमनमा सन् २०१५ देखि सुरु भएको संघर्षका कारण अहिलेसम्म ६ हजार चार सय भन्दा धेरै मानिसको ज्यान गएको छ । त्यसमा आधा भन्दा धेरै सर्वसाधारण मानिस छन् । यस्तै २५ लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।