samsadकाठमाडौँ, ३२ साउन ।  व्यवस्थापिका–संसद्ले संवैधानिक प्रावधान अनुसार उच्च अदालत गठनका लागि संसद्मा पेस भएको विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ ।  असोज २ गतेभित्र उच्च अदालत गठन भइसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि छोटो समयका बीचमा संसद्ले विधेयक विधायन समितिमा पठाएको हो ।

आइतबारको व्यवस्थापिका–संसद्को बैठकमा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले गर्नुभएको प्रस्ताव आइतबारको सदनले सर्वसम्मतीले अनुमोदन गरेको हो ।  सदनले दफावार छलफलका लागि अनुमोदन गरेको विधेयक विधायन समिति पठाइनेछ ।

सरकार परिवर्तनपछि उक्त विधेयकको दफावार छलफल पठाउने प्रस्ताव संसद्बाट अनुमोदन हुन नसक्दा केही समय ढिलाइ भएको हो ।  दफावार छलफलका लागि विधेयक समितिमा पठाइएसँगै उच्च अदालत गठनको कानुन बन्न केही ढिलाइ हुने भएको छ ।  संसद्ले पठाएका विधेयक संसद्को विधान समितिको क्षेत्राधिकारमा पर्नेछन् ।