ओमप्रकाश गुप्ता
देउखुरी ३१ साउन ।
देउखुरीमा रहेको जखेरा ताल छेउछाउँमा वृक्षारोपन गरिएको छ । लमही नगरपालिका स्थित जखेरा ताल वरीपरी सोमवार एक कार्यक्रमका बिच वृक्षारोपण गरिनुका साथै तालमा माछाका भुरा समेत हालिएको छ । जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठान लमहीको आयोजनामा प्रतिष्ठानका संस्थापक अध्यक्ष रामप्रसाद उपाध्यायको सहयोगमा ताल वरीपरी वृक्षारोपण गरिनुका साथै तालमा माछाका भुरा हालिएको हो । तालको सौन्र्दयता बढाउन तथा बातावरण सफा स्वच्छ राख्न वृक्षारोपण गरिएको हो ।
साथै माछाबाट हुने प्राप्त आम्दनीले तालको संरक्षणमा खर्च गर्ने लक्ष्य समेत राखिएको छ । जखेरा सामुदायिक वन उपभोक्ता समुहले उपलब्ध गराएको सति साल, श्रीखण्ड, बेल, कुलमोड, कल्की, बर पिपल, सिसौ, रुद्राक्ष, कपुर गरि करिव ५ सय विरुवा ताल वरीपरीको खाली ठाउँमा रोपिएको छ । भने ग्रास, नैनी, कमनकार्प, सिल्र्भरकार्प र असला जातीका १ लाख ५० हजार माछाको भुरा तालमा हालिएको छ । जखेरा ताल संरक्षण समितिका सचिव बद्रीनाथ चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी ओमप्रकाश गुप्ताले गर्नु भएको थियो ।।