इन्द्रेणी संवाददाता
रोल्पा, ३१ साउन
कवि हेमन यात्रीले रोल्पामा आफ्ना कविताहरु सुनाएका छन् । इटहरीबाट यात्री कविता सुनाउनकै लागि रोल्पा आएका थिए । राप्ती साहित्य परिषद् जिल्ला शाखा, रोल्पाले उनलाई यहाँ निम्ताएर आइतबार लिबाङमा ‘कवि हेमन यात्री र उनका कविताहरु’ कार्यक्रममा आयोजना गरेको हो । कार्यक्रममा कवि यात्रीले उनले आफ्ना १५ वटा जति कविताहरु सुनाएका हुन् ।कार्यक्रममा उनले नारायणी मेरो आँखामा, बेपत्ताको आत्मा, गुरास नफुलेको वर्ष, जंगलको बास, आमाको गीत, म त्यही हुँ, आमा आप्पाका लागि लगायतका उत्कृष्ट कविताहरु सुनाएका थिए ।
स्वागत मन्तव्य समेत दिएका विष्णु सन्यासले यात्रीको स्वयम्भु कविता वाचन गरेर साथ दिएका थिए । साहित्यकार डी।बी। टुहुरोले समग्र कार्यक्रमको समीक्षा गरेको थिए । रोल्पामा आयोजना गरिदै आएका कार्यक्रमहरुभन्दा नौलो भएका बताउँदै टुहुरोले यात्रीको कविता वाचनले पनि स्रोताहरुलाई नयाँ स्वाद चखाएको बताए ।
कार्यक्रममा कृष्णबहादुर घर्तीमगर, ओम केसीलगायतले बोलेका थिए ।यात्रीको कविता सुन्न जिविस नयाँ हलमा सहभागीहरुको बाक्लो उपस्थिति थियो । राप्ती साहित्य परिषद् जिल्ला शाखा, रोल्पाका अध्यक्ष गोकर्ण पुनमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन खबपु चञ्चल मगरले गरेका थिए ।।