काठमण्डौ, ३१ साउन
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा चीनलाई नयाँ सरकारको चासो र प्राथमिकताका बारेमा जानकारी गराउन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । परिवर्तित राजनीतिक स्थिति तथा नयाँ सरकार गठन भएको सन्दर्भमा प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयअनुसार उपप्रधानमन्त्री महरा राजनीतिक भेटघाटका लागि चीन प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा रहेको नयाँ सरकारले संविधान कार्यान्वयन, संविधानलाई सर्वस्वीकार्य बनाउने, शान्ति प्रक्रियासँग जोडिएका सत्य निरुपण र बेपत्ता खोजबिनको कार्यलाई निष्कर्षमा पु¥याउने तथा भूकम्पपछिको पुनःनिर्माणको विषयलाई प्राथमिकता निर्धारण गरेको छ ।cc

चीनतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले दुई देशबीचको सम्बन्ध विकास र विस्तार गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको प्रष्ट पार्नुभयो । नयाँ सरकार गठन भएको परिवर्तित अवस्थामा चीनसँगको सम्बन्धलाई सुदृढ गर्न आफू चीन जान लागेको उपप्रधानमन्त्री महराले वताउनुभयो ।

उपप्रधानमन्त्री महराले दुईदिनसम्म बेइजिङमा रहँदा चिनियाँ सरकारका उच्चपदस्थ अधिकारी, महत्वपूर्ण व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उहाँसंग परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्रप्रसाद अर्याल पनि भ्रमणमा जानुभएको छ ।।