दाङ। माओवादीनिकट शिक्षकका विभिन्न संगठनहरुको ५ नं. प्रदेशस्तरीय एकता भेला शनिबार घोराहीमा सम्पन्न भएको छ । बृहत शिक्षक एकता, रुपान्तरण तथा विजय अभियान भन्ने मूल नाराका साथ एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल प्रगतिशील शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठन (विद्रोही) बीच एकता भएको हो । संगठनको नाम भने यसअघि केन्द्रमा भएको एकता भेलाबाट एकीकृत अखिल नेपाल शिक्षक संगठन तय गरिसकिएको छ ।

teacher 2

एकता भेलाबाट बाँकेका अर्जुन पौडेलको संयोजकत्वमा प्रदेशभित्र रहेका संगठनका केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार तथा जिल्ला अध्यक्षहरु सदस्य रहने गरी ५ नं. प्रदेश सम्मेलन आयोजक समिति गठन गरिएको छ । त्यस्तै संगठनको इन्चार्जमा कृष्णबहादुर बस्नेतलाई जिम्मेवारी दिइएको संयोजक पौडेलले जानकारी दिनुभयो ।

भेलाले आगामी भदौ २५ गते बाँके, बर्दिया, दाङ, रुपन्देही, अर्घाखाँची र रोल्पा तथा असोज १ गते पाल्पा, प्यूठान, गुल्मी र कपिलवस्तु जिल्लामा एकता भेला गर्ने निर्णय गरेको संयोजक पौडेलले जानकारी दिनुभयो । त्यस्तै, संगठन विस्तार र सदस्यता वितरणलाई तीव्र बनाउने पनि भेलाले निर्णय गरेको संयोजक पौडेलले बताउनुभयो ।

प्रदेश इन्चार्ज कृष्ण बस्नेतको अध्यक्षता तथा संगठनका केन्द्रीय अध्यक्ष भोला सापकोटाको प्रमुख आतिथ्यमा भएको एकता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रदेशभरिका करिब पाँच सय शिक्षकहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष भोला सापकोटाले अहिलेको शिक्षा ऐन संशोधन शिक्षकहरु र संगठनले गरेका आन्दोलनहरुको प्रतिफल भएको बताउनुभयो । शिक्षकहरु आफ्नो पेशागत शैक्षिक कर्तव्यबाट विमुख नभएर राजनीतिक सामाजिक चेतनाको समृद्धिसहित समाज रुपान्तरणका पक्षमा भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य जगप्रसाद शर्मा ‘अपार’, शिक्षक महासंघका सह–अध्यक्ष रत्नबहादुर ओली, संगठनका ५  नं. प्रदेशका फ्र्याक्सन इन्चार्ज हकिकुल्लाह खाँ, माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम, संगठनको महिला विभागका सदस्य अम्बिका नेपाललगायतले प्रशिक्षणमूलक मन्तव्य व्यक्त गर्नुभएको थियो । संगठनका ५ नं. प्रदेश सह–इन्चार्ज बसन्त अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संयोजक अर्जुन पौडेलले गर्नुभएको थियो ।