काठमाडौँ, ३० साउन । सरकारले लोक सेवा आयोगको काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा दर्ता गरेको छ ।
संविधानले थप गरेको क्षेत्राधिकारबमोजिम सङ्घीय सरकारी सेवासहित सङ्गठित संस्थाहरूको परीक्षा सञ्चालनको कानुनी प्रबन्ध गर्न बिद्येयक संसदमा दर्ता गरेको हो ।
नयाँ संविधानले आयोगलाई सुरक्षा निकाय, संस्थान सेवा तथा अन्य सरकारी स्वामित्वका सङ्गठित संस्थाको कर्मचारी नियुक्तिसम्बन्धी परीक्षा सञ्चालनको दायित्व थप गरेको छ ।
थपिएको भूमिकाअनुसार कानुन व्यवस्था गर्न सरकारले आयोगको मौजुदा ऐन संशोधन प्रस्ताव संसद्मा दर्ता गरेको हो ।
संवैधानिक प्रबन्ध र प्रस्तावित विधेयकको व्यवस्थाअनुसार शिक्षक सेवा आयोग र विश्वविद्यालय सेवा आयोगबाहेकका अन्य निकायको लिखित परीक्षा अब लोक सेवा आयोगले लिनेछ । यसअघि निजामती सेवाको परीक्षा सञ्चालन र नतिजा प्रकाशनको प्रमुख जिम्मेवारी आयोगलाई थियो ।
