तुलसीपुर ३० साउन । तुलसीपुर क्षेत्रमा क्रिकेट मैदानको ब्यबस्थापन नहुँदा क्रिकेटको विकास हुन नसकेको एक कार्यक्रमका सहभागी बक्ताहरुले बताएका छन् । त्रिशिद्धेश्वरी स्पोर्टस क्लब तुलसीपुरले शनिबार आयोजना गरेको दाङमा क्रिकेटको बर्तमान अबस्था र चुनौती बिषयक अन्तरक्रिया एवं खेल सामाग्री हस्तान्तरण कार्यक्रमका बक्ताहरुले त्यस्तो बताएका हुन ।
तुलसीपुर क्षेत्रको क्रिकेटको विकास नुहनुको मुख्य कारण खेल मैदानको अभाव नै भएको उनीहरुको निष्कर्ष छ । हाल सम्म क्रिकेट खेलाडीहरुको लागि तुलसीपुर क्षेत्रमा अलग्गै खेल मैदान छैन । क्रिकेट खेलाडीले अरणीको मैदानमा क्रिकेट खेल्दै आएको भएपनि उक्त मैदान क्रिकेट खेल्नको लागि उपयुक्त भने छैन । दाङको घोराहीमा क्रिकेट मैदान निर्माण भईसकेको र लमहीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदानको निर्माण प्रक्रिया अगाडि बढिरहेको भएपनि तुलसीपुरमा क्रिकेट खेलका लागि मैदान निर्माण गर्ने प्रक्रिया समेत सुरु हुन नसक्दा क्रिकेट खेल र खेलाडीहरुको भविस्य नै अन्यौंलमा परेको बक्ताहरुको भनाई छ ।
क्लबका अध्यक्ष कमल डाँगीको अध्यक्षता तथा सिपी मल्टी प्रपोज मिडिया ग्रुप प्रालिका वरिष्ठ व्यवस्थापक टेकबहादुर खड्का प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका बक्ताहरुले तुलसीपुर क्षेत्रको लागि राप्ती ववई क्याम्पस पछाडिको जग्गामा क्रिकेट मैदान निर्माणगर्न सकिने सुझाएका छन् । त्यहाँ क्रिकेट मैदान निर्माणका लागि तुलसीपुर क्षेत्रको सबैभन्दा उपयुक्त स्थल रहेको अधिकाँस बक्ताहरुले बताएका थिए ।
तर उपयुक्त खेलकुद मैदान नभएपनि दाङका पाँच खेलाडीले अन्तराष्ट्रिय खेल खेल्न सफल हुनु गर्बको कुरा भएको बक्ताहरुले बताएका थिए । उनीहरुका अनुसार खेलकुद मैदान नहुँदा नहुँदै डाँडोमा अभ्यास गरेर भएपनि दाङले उत्कृष्ट खेल प्रर्दशन गरिरहेको भन्दै खेलाडिको प्रशंसा गरेका थिए । उपयुक्त खेल मैदान व्यवस्थापन गर्न सक्ने हो भने जिल्लाको खेल जगतले अझैं फड्को मार्ने , खेलाडीहरुको मनोवल बढ्ने बक्ताहरुको धारणा थियो । तर यस्तै अवस्था कायमै रहेमा तुलसीपुर क्षेत्रको हरेक खेलकुदका गतिविधि धारासायी बन्ने सक्ने चिन्तापनि उनीहरुले जाहेर गरेका छन् ।
कार्यक्रममा मन्तब्य राख्दै क्लबका अध्यक्ष डाँगीले खेलका हिसाबले दाङ ‘क’ बर्गमा परेपनि गतिबिधिका हिसाबले ‘ख’ बर्गमा परेको उल्लेख गरे । कार्यक्रममा दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मज्गैयाले क्रिकेट खेलको बिकासका लागि निजी लगानी आबश्यक भएको बताए । उनले सरकारले खेल क्षेत्रमा उल्लेख्य रुपमा सहयोग नगरेकाले सामाजीक संघसंस्थाले खेल क्षेत्रको बिकासका लागि लगानी गर्नुपर्ने समय आएको बताए । तर अन्यक्षेत्रमा लाखौं करोडौं दानगर्ने दाताहरु समेत खेल क्षेत्रको विकासका लागि सक्रिय नहुनु चिन्ताको विषय भएको उनले बताए ।
उनले दाङका महिलाहरुले क्रिकेटमा निकै राम्रो गर्दै आएकोले उनीहरुका लागि उचित मैदान र प्रशिक्षण भएमा क्रिकेटमा दाङ उदाहरणीय वन्ने बताए । मजगैंयाले भने ‘ राष्ट्रिय बिद्यालय स्तरीय महिला क्रिकेटबाट दाङ्की खेलाडि दोस्रो हुनु दाङ खेल क्षेत्रमा अगाडि रहेको पुष्टि हो । डाँडापाखामा खेलेर प्राप्त सफलता ठूलो संभावनाको सूचक हो ।’ उनले अहिले सम्म दाङका पाँच जना खेलाडीले अन्तराष्ट्रि खेल खेलिसकेकोले दाङ खेल क्षेत्रमा पछाडि नभएको बताए । राज्यले खेल क्षेत्रमा उपयुक्त लगानी नगर्नु र समाजिक संस्था अनि व्यक्ति विषेश वाट समेत खेल क्षेत्रको विकासका लागि ध्यान नदिदा खेल जगत धारासायी वन्न सक्ने चिन्ता जाहेर गरे । यस्तै अवस्था कायमै रहेमा खेलाडीहरुको भविस्य समेत समाप्त हुने मजगैंयाको धारणा थियो ।
कार्यक्रममा दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डिल्लीबहादुुर डाँगीले खेल क्षेत्रमा सम्भाबना भएपनि आधिकारिक प्रशिक्षक नभएको उल्लेख गरे । टेवल टेनिस संघ दाङका अध्यक्ष सिताराम आचार्य, दाङ खेलकुद बिकास समितिका कोषाध्यक्ष कैलास रोका मगर, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजाल , तुलसीपुर नगर जेसिसका अध्यक्ष सुर्य प्रशाद शर्मा , तुलसीपुर उद्योग बाणिज्य संघका महांसचिब नेत्रलाल ओली , एथलेटिक्सका प्रशिक्षक पदमा चौधरी, मिड वेष्र्टन ईन्टरनेश्नल क्लेज अफ हष्पिटालिटी म्यानेजमेन्ट क्लेजका प्रमुख असिताभ लामिछाने लगायतले धारणा राखेका थिए ।
क्लबका कोषाध्यक्ष स्माइल अन्सारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सिपी मल्टिप्रपोज मिडिया प्रालि तुलसीपुरले त्रिशिद्धेश्वरी स्पोर्टस क्लब तुलसीपुर र तुलसीपुर क्रिकेट एकाडेमीलाई प्रायोजन गरेको करिब डेढ लाख बराबरका खेल सामाग्री र ३४ जोड खेल सामग्री प्रदान गरिएको थियो ।
कार्यक्रममा दाङबाट प्रतिनिधीत्व गर्दै अन्तराष्ट्रिय स्तरमा जिल्ला अनि राष्ट्रको शान र गौरवलाई उच्च राख्न सफल क्रिकेटका अन्तराष्ट्रिय खेलाडी मनोज वैश्य र दाङलमही निवासी राजविर सिहंलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण क्लवका प्रेस सल्लाहकार लक्ष्मण बस्नेतले गरेका थिए ।











