sukumbasiकाठमाडौँ, २८ साउन । राष्ट्रिय सहमति कायम गरेर भूमि व्यवस्थापन र सुकुम्बासी समस्या समाधान गर्नुपर्नेमा जोड दिइएको छ । अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी सङ्घले बुधबार आयोजना गरेको ‘नेपाली भूमि व्यवस्थापन र सुकुम्बासी समस्या’ विषयक अन्तक्र्रिया विभिन्न दलका नेताले मुलुकमा रहेका सुकुम्बासीको पहिचान सरकारले गर्न नसकेका कारण समस्या जटिल बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

भूमि तथा सुकुम्बासीका जानकार तथा नेकपा ९एमाले०का केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष केशव बडालले भूमिसुधार आयोगको नेतृत्व समालेको बेला आफूले भूमिसुधार तथा सुकुम्बासी समस्या समाधान गर्न खोजेको बताउँदै तत्कालीन सरकार चाँडै परिवर्तन भएकाले समाधान हुन नसकेको बताउनुभयो ।

उहाँले राज्यले जमिनभन्दा पनि नागरिकप्रति जवाफदेही हुनुपर्ने विचार व्यक्त गर्दै राज्य जवाफदेही नबनेका कारण सुकुम्बासी समस्या एक पछि अर्को समस्या बन्दै गएको बताउनुभयो ।

नेकपा माओवादीका पोलिटब्युरो सदस्य सन्तोष बुढा मगरले सरकारमा पुगेका राजनीतिक पार्टीका नेताहरुले सुकुम्बासी समस्यालाई गम्भीरताका साथ नलिएको बताउँदै जमिनमा भूमिहीनहरुको स्वामित्व हुनुपर्ने बताउनुभयो ।