mansonकाठमाडौँ, २४ साउन । आउँदो मङ्गलबारसम्म बदली भई भारी वर्षा हुने सम्भावना भएकाले बाढी, पहिरो र डुबान हुन सक्ने भन्दै मौसमविद्ले सतर्क रहन सबैलाई आग्रह गरिएको छ ।  बाढी र पहिरोमा परी यस वर्षको मनसुन सुरु भएयता १२५ जनाले ज्यान गुमाइसकेका छन् ।  यसअघि दुई पटक बाढी, पहिरोको मौसमविद्ले भविष्यवाणी गर्दै सतर्क रहन आग्रह गरेका थिए ।  गत शुक्रबार रातिबाट देशभर विभिन्न स्थानमा लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आइतबार दिउँसो पूर्वी नेपालका तराई क्षेत्र र पश्चिम नेपालका तराई क्षेत्रमा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले भन्नुभयो ।  उहाँले अझै आउँदो मङ्गलबारसम्म क्षणिक रूपमा पूर्वी र पश्चिमी भेगमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकोले क्षणिक रूपमा भएको भारी वर्षाले बाढी, डुबान हुने र पहिरो जानसक्ने तर्फ सचेत रहन आग्रह गर्नुभयो ।

पूर्वी नेपालका पहाडी क्षेत्रमा शुक्रबार रातिदेखि लगातार वर्षा हुँदा दर्जनभन्दा बढी जिल्ला सदरमुकाम जोड्ने सडक अवरुद्ध भएका छन् भने पश्चिम र मध्यपश्चिम नेपालमा पनि ठाउँ ठाउँमा पहिरो जाँदा भौतिक क्षति भएको छ ।

चितवन, रूपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दियामा लगातार पानी पर्दा जनजीवन प्रभावित भएको छ भने ती क्षेत्रमा शनिबारका हवाई उडानसमेत प्रभावित भएका छन् ।  निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले शनिबार पश्चिम तराई र पूर्वी तराईका रुटमा निर्धारित समयमा उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।