काठमाण्डौ, २३ साउन
नेपाली कंग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन राजधानीमा शुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा कंग्रेस सभापति शेरवहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नुभएको छ ।
सो संगठनको महाधिवेशन यसअघि पटक पटक मिति घोषणा भएर पनि स्थगित हुँदै आएको थियो । ९ वर्षपछि भएको महाधिवेशनमा नेतृत्वका लागि आधा दर्जन बढीले दावेदारी पेश गरेका छन । उद्घाटन भएपनि ११ जिल्लाको प्रतिनीधि विवाद अझै टुङ्गो लाग्न सकेको छैन ।
नेविसंघको अध्यक्षका लागि नयनसिंह महर, जितजंग बस्नेत, निलकण्ठ रिजाल, मनोजमणी आचार्य, दिपक भट्टराई, कुन्दन राज काफ्ले लगायतले आकांक्षा राखेका छन् ।
महाधिवेशनमा सहभागी हुन मुलुकभरबाट ३ हजार ४ सय प्रतिनीधि राजधानी आएका छन् । पर्सीसम्म चल्ने महाधिवेशनले प्रदेश संरचना अनुसार १ सय ५१ सदस्यीय केन्द्रीय समिति चयन गर्ने सो संगठनले जनाएको छ ।