काठमाडौँ, २३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकाल प्रभावकारी बनाउन ‘उद्घाटन कार्यक्रम र रिबन काट्ने’ काममा नअल्झने बताउनुभएको छ ।
प्रधानमन्त्री भएपछिको पहिलो सार्वजनिक कार्यक्रममै प्रचण्डले किन यस्तो अभिव्यक्ति दिनुभयो होला ? अनुभवीहरू भन्छन्– प्रधानमन्त्री वा मन्त्री जस्तो सार्वजनिक पदमा पुगेपछि यस्ता कार्यक्रम यति धेरै आउँछन् कि ती सबैको अनुरोध स्वीकार्ने हो भने आफ्नो कार्यकालको दुई तिहाइ समय त्यसैमा खर्चिनुपर्ने हुन्छ, जसले कार्यक्षमता नै कम गरिदिन्छ ।
शनिबार राजधानीमा आयोजित माओवादी केन्द्रकै गोरखा–काठमाडौँ जनसम्पर्क मञ्चको कार्यक्रममा प्रधानमन्त्रीले आफू ‘परिणाममुखी काम गर्नेमा’ केन्द्रित हुने धारणा व्यक्त गर्दै ‘अपवादबाहेक उद्घाटन कार्यक्रम र रिबन काट्ने काममा नअल्झने’ बताउनुभएको छ । यसले पनि सार्वजनिक कार्यक्रमहरूमा प्रधानमन्त्री, मन्त्री वा विशिष्ट व्यक्तिहरूलाई अतिथि भइदिन आउने अनुरोधको दबाब थेग्न निकै गाह्रो पार्ने सङ्केत गर्छ ।











