प्रेस सेन्टर गोरखा
गोरखा, २० साउन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विष्णु भट्टले पत्रकारहरुलाई कलम तिखो बनाएर सत्य कुरा लेख्न आग्रह गरेका छन् । प्रेस सेन्टर गोरखाको एकता भेलालाई आज सम्बोधन गर्दै नेता भट्टले माओवादी केन्द्रको पहलमा चीन सरकारसँग भएका विभिन्न सम्झौताहरुलाई केपी ओलीले गरेको भनी प्रचार गरिरहँदा पनि प्रेस सेन्टरका पत्रकाहरु सत्य कुरा लेख्न ढगमगाएको उनले बताए । माओवादी केन्द्रले नेतृत्व गरेका मन्त्रालयलाई कार्यक्रम र बजेट नदिने , मन्त्रीहरुलाई कि कारवाही गर कि गर्छु भन्दै धम्की दिनेको नेतृत्वमा बसिराख्न कुनै औचित्य नभएका कारण नयाँ विकल्प खोज्नु परेको उनको भनाई छ ।
मधेश र मधेशी जनतालाई सबै भन्दा बढि विभेद गर्दा देशको आधा जनसंख्या अन्यायमा परिरहँदा माओवादी केन्द्र ओली सरकारलाई बचाई राख्न नसक्ने अवस्थामा पुगेका उनले प्रष्ट पारे । प्रेस सेन्टरका पत्रकारहरुले डिफेन्सिभ पत्रकारिता गरेर समाजलाई सत्य कुरा जाहेर गर्नुपर्ने उनको भनाई छ । सोझासादा जनतालाई भ्रम छरेर राजनीति गर्न खोज्ने गलत चरित्र बोेकेका नेताहरुको भण्डाफोर गर्नुको विकल्प नभएको उनले बताए ।
युवाहरुलाई पैसामा किनेर राजनीति नहुने बताउँदै अन्याय, अत्याचारका विरुद्ध निरन्तर आवाज उठाईरहनुपर्ने र जनतालाई आशावादी बनाई राख्नुपर्ने उनले बताए ।
शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन लागि परेका मुख्य पार्टीहरुले सरकार निर्माण गर्नु जायज भएको उनले बताए । गोरखाको पत्रकारीता विकासका लागि बास्तविक पत्रका जन्माउने क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ भएको स्पष्ट गर्दै कहिँकतै समाचार नलेख्ने र कुरैकुराले पत्रकार बन्नेलाई प्रेस सेन्टरले ठेगान लगाउनुपर्ने बेला आएको बताए ।
एकता भेलाले दिपक जलनको संयोजकत्वमा दुई सदस्य पछि थप गर्ने गरी २५ सदस्यीय आयोजक समिति गठन गरेको छ । प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राजेन्द्र न्यौपानेको उपस्थितिमा भएको सो कार्यक्रममा रेडियो मातृभूमि, रेडियो मनास्लु, सामुदायिक रेडियो हर्मी, सामुदायिक रेडियो मनकामना, अनलाईन तथा छापा माध्यमका तीन दर्जन भन्दा बढी गोरखाली पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य राम बहादुर ढकाल, जिल्ला सचिवालय सदस्य अंकुर तिमिल्सना, प्रेमचन्द्र श्रेष्ठ, रेडियो मातृभूमी सञ्चालक समितिका अध्यक्ष कृष्ण राना मगर प्रेस सेन्टर तनहुँका संयोजक सरोज घिमिरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम न्यौपानेको अध्यक्षता र जलनको संञ्चालनमा सम्पन्न भएको प्रेस सेन्टर गोरखाले जनाएको छ ।











