बर्दिया । बर्दिया नगरपालिका–७ रम्तापुरमा गुडिरहेको ईभी माइक्रोमा अचानक आगलागी भएको छ । कोहलपुरदेखि कैलालीतर्फ गइरहेको सु.प.प्र. ०१–००२ ज ४३३ नम्बरको ईभी माइक्रोमा आइतबार बिहान पौने ७ बजेतिर अचानक आगलागी भएको हो ।
माइक्रोमा चालक र सहचालक मात्र रहेकाले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । माइक्रो कैलाली धनगढी उपमहानगरपालिका–३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए ।
आगलागीबाट माइक्रो पूर्ण रुपमा जलेर क्षति भएको छ भने गाडीमा राखिएका कागजपत्र र नगद ४२ हजार जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो । केही दिन अघि मात्रै चितवनको भरतपुरमा पनि एउटा गुडिरहेको ईभी कारमा एक्कासी आगलागी भएको थियो ।











