काठमाडौं । बुधबार साँझ जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गरेपछि पत्रकारिता क्षेत्र आन्दोलित भएको छ।

ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट बुधबार साँझ पक्राउ परेका श्रेष्ठलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ। प्रहरीले जनआस्था साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर उनलाई पक्राउ गरेको हो ।

पत्रकार श्रेष्ठको पक्राउको विरोधमा पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत पत्रकार तथा सञ्चारकर्मीहरू काठमाडौं प्रहरी परिसर पुगेका थिए। उनीहरूले परिसर अगाडि नाराबाजी गर्दै श्रेष्ठको तत्काल रिहाइको माग गरे।

पत्रकारहरूले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन्। उनीहरूले समाचारमा चित्त नबुझे कानुनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न सकिने भन्दै पत्रकारलाई नै पक्राउ गरेर हिरासतमा राख्ने कार्य स्वीकार्य नहुने बताएका छन्।

चार दशकदेखि पत्रकारितामा सक्रिय श्रेष्ठको नेतृत्वमा रहेको जनआस्था मिडियाले तीन दशकभन्दा लामो समयदेखि विभिन्न राजनीतिक, प्रशासनिक तथा सार्वजनिक क्षेत्रमा हुने अनियमितता र गैरकानुनी गतिविधिलाई समाचारमार्फत उजागर गर्दै आएको छ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारमाथि कुनै पनि प्रकारको हस्तक्षेप हुन नहुने भन्दै पत्रकार महासंघलगायतका संस्थाले सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले पत्रकारलाई निर्भीक रूपमा समाचार लेख्ने र प्रकाशित गर्ने वातावरण बनाउनसमेत माग गरेका छन्।