काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करको दर हेरफेर गर्नुका साथै बजेटअघि नै अति गोप्य सूचना चुहावट गरेको भन्दै तत्काल संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सरकारले बनाउने छानबिन समितिको औचित्य नहुने भन्दै उनले संसदीय छानबिन समिति गठन गरेर छानविन गर्नुपर्ने बताएका हुन् ।
“पहिला पनि यस्तै हुन्थ्यो सरकारका मन्त्रीले गलत गर्थे, आफै छानबिन समिति बनाउँथे, र आफैलाई आफैले निर्दोष सावित गराउँथे अनि विचरा संसदमा ताली पड्काउथे, जनता वाक्क भएर भदौ २३ र २४ भएको हो, तपाईंहरूले ध्यानमा राख्नुस्, देशका अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति चाहिन्छ”, उनले भने।
करका दर हेरफेर गरेकोमा दोषी ठहरे अर्थमन्त्रीलाई राजद्रोहीको मुद्दा लाग्ने कानुनी व्यवस्था भएको पनि संसद शाहीले स्मरण गराएका थिए ।
अर्थमन्त्री वाग्लेले मन्त्रालयमा बसेर करका दर हेरफेर सम्बन्धी १७ पृष्ठ गायब पारेको आरोप लाग्दै आएको छ । अर्थमन्त्री वाग्लेले संसदमा पेश गरेको बजेट र पछि करको दर हेरफेर गरेर मन्त्रालयको वेवसाइटमा राखेको बजेटमा फरक देखिएको थियो ।











