काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत मंगलबार ६५ वर्षको उमेर हदका कारण अवकाश भएपछि आजदेखि न्यायाधीश सपना प्रधान मल्लले कायम मुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्।
प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने संवैधानिक प्रावधान छ।
नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि भने संवैधानिक परिषद् पूर्ण हुन बाँकी रहेकाले प्रक्रिया केही समय लाग्ने देखिएको छ। संसद् सञ्चालन, संसदीय सुनुवाइ र राष्ट्रपतिबाट नियुक्तिपछि मात्रै स्थायी प्रधानन्यायाधीश टुंगो लाग्नेछ।
संविधानअनुसार, प्रधानन्यायाधीश हुन सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीशको अनुभव भएको र ६५ वर्ष उमेर ननाघेको व्यक्ति हुनुपर्छ।











