प्युठान। प्युठान जिल्ला अस्पताल बिजुवारमा पहिलोपटक मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ । सेवा सुरु भएसँगै अब उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।
अस्पतालमा हाल ८ वटा डायलोसिस मेसिन जडान गरिएका छन् । एक आपतकालीनसहित ६ शय्याबाट दुई सिफ्टमा सेवा सञ्चालन गरिने छ । एक बिरामीलाई सातामा २ देखि ३ पटकसम्म डायलोसिस आवश्यक पर्ने भएकाले हालको क्षमताले सातामा करिब ५ जनालाई मात्र सेवा दिन सकिने अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. शुवास पौडेलले बताए ।
एक बेड र दुई मेसिन ब्याकअपका रूपमा राखिएको छ । अहिलेसम्म ८६ जना बिरामीले सेवा लिन नाम दर्ता गराइसकेको अस्पतालले जनाएको छ । पौडेलका अनुसार सेवा प्रारम्भिक रूपमा परीक्षण चरणमा सञ्चालनमा ल्याइएको हो । स्वास्थ्य मन्त्रालय अन्तर्गत नर्सिङ विभागको अनुगमनपछि मात्र सेवा निःशुल्क रूपमा नियमित गरिने तयारी छ ।
डायलोसिस सेवा सञ्चालनमा ल्याउन लायन्स क्लब अफ प्यूठानको मुख्य लगानी रहेको छ । करिब एक करोड ७६ लाख लागतको परियोजनामा ७५ प्रतिशत लगानी क्लबले बेहोरेको छ भने बाँकी २५ प्रतिशत जिल्लाका नौ वटै स्थानीय तहले सहयोग गरेका छन् । प्युठान उद्योग वाणिज्य सङ्घ तथा विभिन्न गैरसरकारी संस्थाले समेत सहयोग गरेका छन् ।











