उदय बीसी
दाङ । आज प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ । यसपटकको मतदान प्रक्रियामा दाङबाट ४ लाख ३१ हजार ६३८ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । जिल्ला निर्वाचन कार्यालय दाङको तथ्याङ्क अनुसार जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा ४ लाख ३१ हजार ६३८ मतदाता छन् । जसमा १६ हजार ७४९ मतदाता नयाँ हुन् ।

आज हुने निर्वाचनमा जिल्लामा १५९ मतदान स्थल तोकिएको छ । जसमा ४८२ मतदान केन्द्र रहेका छन् । तीनवटै निर्वाचन क्षेत्रमा गरी ६० जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचनमा दाङ क्षेत्र नम्बर १ मा विभिन्न दल एक लाख ४० हजार एक मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् । जहाँ १४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

त्यसैगरी क्षेत्र नम्बर २ मा एक लाख ४० हजार ९४८ मतदाताले मताधिकार प्रयोग गर्दैछन् । जहाँ २३ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यस्तै क्षेत्र नम्बर ३ मा एक लाख ५० हजार ७२० मतदाताले मताधिकार प्रयोग गर्दैछन् । जहाँ २३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

मतदान प्रक्रियालाई सहज, शान्तिपूर्ण र भयरहित बनाउनका लागि जिल्ला तथा सबै मतदान स्थल तथा केन्द्रहरुमा सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जसका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी गरी ५ हजार ११४ सरक्षाकर्मीहरु परिचालन गरिएको छ । यसपटक जिल्लामा तोकिएका १५९ मतदान स्थलमध्ये १६ वटा अति सम्वेदनशील, १३४ वटा सम्बेदनशील र ९ वटा सामान्य भनेर वर्गीकरण गरिएको छ । मतदान विहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुदैछ ।