काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न हुने बताएकी छन् ।
निर्वाचनको मतपत्र छपाइ गरिरहेको भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गरेपछि बिहीबार प्रधानमन्त्री कार्कीले निर्वाचन एकै चरणमा सम्पन्न हुने विषयमा निश्चिन्त हुन अनुरोध गरिन् ।
“अब चुनाव आयो, निश्चिन्त हुनूस् । एकै दिनमा हुन्छ चुनाव । कहीँ केही हुन्न । मलाई त लाग्छ, त्यो दिन सबै ठाउँमा मौसम पनि राम्रै हुन्छ । किनभने मैले अहिलेसम्म जे गरेको छु, राम्रो भइरहेको छ ”, कार्कीले भनिन् ।
जनक शिक्षाका अनुसार बिहीबारसम्ममा प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रका लागि ७२ लाख ६० हजार मतपत्र छपाइ सकिएको छ । प्रत्यक्षतर्फका निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख २३ हजार थान मतपत्र छपाइ गर्नुपर्ने आयोगले जनाएको छ । डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनक शिक्षाले जनाएको छ ।











