काठमाडौं ।फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आजदेखि नेपाली सेना फिल्डमा खटिने भएको छ ।

निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकारले यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरिसकेको छ । सोही अनुसार निर्वाचन आउँन एक महिना बाँकी रहदा सेना परिचालन हुने भएको हो ।

एकीकृत सुरक्षा योजना अनुसार फागुन २१ गते हुने निर्वाचनलाई दृष्टिगत गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूमपा परिचालित हुन लागेका हुन्। योजनाबमोजिम निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि निर्वाचन सुरक्षामा खटिनेछन्। नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन्।

दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ। सो बलले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्नेछ र नेपाली सेनाले सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने छ। निर्वाचन प्रयोजनका लागि नेपाली सेना १६५ वटै निर्वाचन क्षेत्रमा आजदेखि परिचालित हुने सेनाले जनाएको छ।

निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। सेनाले तीन चरणमा काम सुरक्षा प्रदान गर्नेछ। निर्वाचनपूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ, मतपत्र ढुवानी, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी र मतगणनास्थको सुरक्षासम्मको जिम्मेवारी सेनाले सम्हाल्नेछ।