दाङ । आज हुने राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ । मतदान घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा हुदैछ । निर्वाचन आयोगले मतदानको समय विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकेको छ ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशमा तीन सिटका लागि आठ जनाबिच प्रतिस्पर्धा हुँदैछ ।कांग्रेसबाट दुई जना, एमालेबाट एक जना, नेपाली कम्युनिस्ट पार्टीबाट तीन जना र राष्ट्रिय जनमोर्चाबाट दुई जना उम्मेदवार रहेका छन् । राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमालेको तालमेल गर्ने सहमति अनुसार अन्य कोटामा कांग्रेसबाट गुल्मी निवासी चन्द्रबहादुर केसी, अपाङ्गरअल्पसङ्ख्यक कोटामा दाङ निवासी बासुदेव घिमिरे र महिला कोटामा गुल्मीकै एमाले नेता रामकुमारी झाँक्री उम्मेदवार छन् ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट अन्य कोटामा नवलपरासी पश्चिम निवासी वृहस्पति अधिकारी, महिला कोटामा पाल्पा निवासी दुर्गाकुमारी भण्डारी र अपाङ्गरअल्पसङ्ख्यक कोटामा बाँके निवासी सर्जन विक, राष्ट्रिय जनमोर्चाबाट अन्य कोटामा प्युठान निवासी बोमबहादुर खत्री र महिला कोटामा प्युठानकै पद्मा पण्डित उम्मेदवार छन् । लुम्बिनी प्रदेशमा प्रदेश सभा र स्थानीय तह गरी आठ हजार पाँच सय तीन मतभार छ ।