सल्यान । सल्यानमा मानिस र घरपालुवा पशु चौपायामाथि आक्रमण गर्दै आएको संरक्षित वन्यजन्तु जङ्गली पाटेबाघलाई पक्रन वा मार्न आदेश जारी गरिएको छ । कालिमाटी गाउँपालिका–६ र ७ स्थित घुइयावारी क्षेत्रमा विगत एक साताको अवधिमा पाटेबाघले स्थानीय धनसरा रावत र चन्द्रबहादुर खप्तडी मगरसहित तीन जनाको ज्यान लिएको छ भने दुई वटा घरपालुवा पशु गोरु र गाईलाई आक्रमण गरी मारेर खाएको थियो ।

लगातारको आक्रमणपछि बाघले मानिसलाई खोजी खोजी खाने गरेको, गाउँमा घरबाहिर निस्कन समेत नसक्ने अवस्था सिर्जना भई स्थानीय बासिन्दा र जनप्रतिनिधि आतङ्कित बनेको भन्दै बाघ नियन्त्रण वा मार्ने आदेशका लागि सिफारिस गरिएको थियो । डिभिजन वन कार्यालय, सल्यानका कार्यालय प्रमुख टेकबहादुर रावलले बाँके राष्ट्रिय निकुञ्जलाई पत्राचार गर्दै पाटेबाघलाई पक्रन वा मार्न जारी भएको आदेश कार्यान्वयनका लागि अनुरोध गरेका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ (पाँचौँ संशोधन सहित) को दफा १० ‘क’ र ‘ख’ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० (पाँचौँ संशोधन सहित) को नियम ३६ क बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा उक्त पाटेबाघलाई पक्रन वा मार्न आदेश जारी गरिएको हो ।

कालिमाटी गाउँपालिकाले बाघको आक्रमणबाट ज्यान गुमाएका दुई व्यक्तिको परिवारलाइ राहत उपलब्ध गराएको छ । पुस २५ गते कालिमाटी–७ मा ४२ वर्षीय धनसरी रावत र पुस २९ गते मङ्गलबार वडा नम्बर–६ हात्तीढुङ्गामा ६६ वर्षीय चन्द्रबहादुर खप्तडीको बाघको आक्रमणबाट ज्यान गएको थियो ।
गोरखापत्रबाट