काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट निष्काशित गरेको छ ।
कांग्रेस नेता मीन विश्वकर्माका अनुसार बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय थापा र शर्मासँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई अनुशासनको कारबाही गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेको हो ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बुधबार सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान र हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा पार्टी सदस्यबाट पाँच वर्षका लागि उनीहरूलाई निष्कासन गरेको विश्वकर्माले जानकारी दिएका छन् ।
कारबाहीको निर्णय जस्ताको तस्तै
‘कांग्रेसको विधान २०१७ को संसोधनसहितको धारा ३४ को उपधारा १ को देहायको खण्ड क, ख, घ को विरुद्ध नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, महामन्त्री, सहमहामन्त्री र सदस्यले अनुशासन उल्लङ्घन गरेको विभिन्न माध्यामबाट केन्द्रीय कार्यसमितिलाई जानकारी हुन आएको र त्यस सम्बन्धमा मिति २०८२/९/२९ / ३० गतेसम्मका विभिन्न मिडियामा प्रकाशित र प्रशारित समाचारबाट पनि पुष्टि भएको, मिति २०८२/९/२९ गते नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२ भनी पारित गरेको भन्ने, महामन्त्रीद्वयको प्रतिवेदनसमेत पेस गरी छलफल भएर पारित गरेको भन्ने, निर्वाचन समिति समेत गठन भई निर्वाचन कार्यतालिका प्रकाशन गरेको भन्ने र आज मिति २०८२/९/३० गते महामन्त्रीमा रहेका पदाधिकारीले पार्टीको सभापतिमा र अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यले विभिन्न पदमा उम्मेद्वार भई दरखास्त समेत दिएको भनी विभिन्न सञ्चारमाध्यमबाट पुष्टि हुन आएको पाइन्छ । साथै केन्द्रीय कार्यसमितिको मिति २०८२/८/१५ र कार्यसम्पादन समितिको मिति २०८२/९/१८ को निर्णय समेत उल्लङ्घन गरी मिति २०८२/९/१७ गते महामन्त्रीद्वयको हस्ताक्षरबाट नियमित महाधिवेशन स्थगन विकल्प विशेष महाधिवशेन भन्ने सूचना तथा निजले दिएको प्रेस विज्ञप्तिबाट पनि पुष्टि भएको छ । अतः नेपाली कांग्रेसको विधान २०१७ संसोधनसहित धारा ३४ ९१० को खण्ड क पार्टीको आर्दश सिद्धान्त निति विपरित कुनै पनि कार्य गरेमा सोही धाराको खण्ड ख पार्टीको विधान, नियमावाली विपरित कार्य गरेमा ऐ देहाय खण्ड ग, पार्टीको आचारसंहिता उल्लङ्घन गरेमा ऐ देहाय खण्ड ङ, पार्टीलाई प्रत्यक्ष हानी नोक्सानी पुर्याएमा भन्ने समेत कार्यको ठाडो उल्लङ्घन गरेको हुँदा नेपाली कांग्रेसको विधानको २०१७ संशोधन सहितको धारा ३४ उपधारा १ को देहाय खण्ड क ख ग ङ विरुद्धका कार्य गर्ने त्यस्ता पदाधिकारीलाई र सदस्यलाई अपरझट अनुशासनको कारबाही गर्नुपरेको समेतको कारणले कांग्रेसको विधानको २०१७ संशोधनसहित धारा ५०(५) उल्लेख भए बमोजिमको व्यवस्था समेतको आधारमा कांग्रेसको विधानको २०१७ संशोधनसहितको धारा २२ (२०) तथा धारा ३४ (८) को देहाय खण्ड घ,ङ बमोजिम नेपाली कांग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी आजको मितिबाट लागु हुने गरी पार्टीबाट निष्कासन गरिएको छ । कारबाहीमा परेका पदाधिकारी तथा सदस्य महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुर रहेका छन् ।’











