काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको आहनमा डाकिएको दोस्रो विशेष महाधिवेशन प्रारम्भ भएको छ । महाधिवेशनमा आइतबार दुई हजार ६६२ अर्थात ५६.१२ प्रतिशत प्रतिनिधि सहभागी भएका छन् ।

बदलिँदो राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई सुदृढ बनाउने, जनभावना अनुरूपको नीति निर्माण गर्ने र नयाँ ऊर्जासहितको नेतृत्वमार्फत पार्टी रूपान्तरण र पुनर्निर्माणको दृढ उद्देश्यसाथ कांग्रेसको यो महाधिवेशन सुरु भएको आयोजकले जनाएको छ ।

दुई हजार ४८८ जना अर्थात् ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएको तीन महिना पुग्न दुई दिनअघि महामन्त्रीद्वयले काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरेका हुन् ।

उता कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गतेको बैठकले बहुमतका आधारमा २०८३ वैशाख २८, २९, ३० र ३१ गते पार्टीको १५ औँ महाधिवेशनको मिति तय गरेको थियो तर विशेष महाधिवेशन आयोजक समितिले पार्टी विधान अनुसारै विशेष महाविधेशन आयोजना जनाएको छ ।

विशेष महाधिवेशन सचिवालयका सदस्य युवराज पाण्डेयका अनुसार उद्घाटनकै दिन दुई हजार ६६२ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन भएको छ । विशेष महाधिवेशन उद्घाटन समारोहमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, संस्थापन इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालासहित शीर्ष नेतालाई निम्तो गरिए पनि उपस्थित छैनन् ।