काठमाडौँ । नियमित महाधिवेशनका लागि संस्थापन तयार नभएपछि नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा मिति तोकेका छन् । पुस २७ देखि २८ गतेका लागि विशेष महाधिवेशन गर्न भृकुटीमण्डपको हल ‘बुक’ समेत थरिएको छ ।

महामन्त्रीद्वयले विशेष महाधिवेशनको निर्णय गर्ने मौखिक जानकारी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बिहीबार दिइसकेका छन्, । उनीहरुले शुक्रबार लिखित रुपमा जानकारी गराउने तयारी छ । शनिबार विज्ञप्तिमार्फत विशेष महाधिवेशन आह्वान गरिने उनीहरूले जनाएका छन् ।

विशेष महाधिवेशनको तयारी अघि बढेपछि सभापति देउवाले बिहीबार महामन्त्रीद्वयलाई छलफलमा बोलाएका थिए । तर उनले अन्तिम समयमा छलफल रोकेर निकटस्थ नेताहरूसँग छलफल थालेका छन् । काग्रेसले कार्यसम्पादन समितिको बैठक पनि शुक्रबार ३ बजेका लागि बोलाइएको छ । महामन्त्री थापा र शर्माले विशेष महाधिवेशन बोलाएपछि कांग्रेसभित्रको महाधिवेशनसम्बन्धी विवाद उत्कर्षमा पुगेको छ ।

महाधिवेशनको मिति तय भइसकेपछि क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा आइपुग्दा समग्रमा पाँच लाख ७ हजार ३ सय ९५ क्रियाशील सदस्यता नवीकरण सम्पन्न भएको बताइएको छ । बाँकी रहेका खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लाका जिल्ला कार्यसमितिबाट नवीकरण प्रक्रिया टुङ्गिएपछि कूल नवीकरण संख्या करिब ६ लाखभन्दा बढी हुने अनुमान छ ।