काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि आउँदो फागुन २१ गते हुन लागेको चुनावमा सबै दलहरु होमियका छन् । निर्वाचन आयोगले तोकेको समयभित्र चुनावको समानुपातिकतर्फ ६४ दलले बन्दसूची पेश गरेका छन् ।

कांग्रेस, एमाले, नेकपा, रास्वपासहित २२ वटा दलले समानुपातिकतर्फको सबै अर्थात् ११० सिटका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । अन्य बाँकीले न्यूनतम ११ देखि १०० जनासम्मको बन्दसूची पेश गरेका छन् ।

बन्दसूची पेश गर्ने पहिलो दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेको छ भने अन्तिम दलमा नेपाली कांग्रेस छ । निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन अधिकृतको कार्यालयमा रातभर राजनीतिक दलहरूलाई उम्मेदवारको बन्दसूची पेश गर्न भ्याइनभ्याइ भयो ।

१०० राजनीतिक दलले ९३ चुनाव चिह्नमार्फत् समानुपातिक प्रणालीतर्फको चुनावमा जान निर्वाचन आयोगले यसअघि स्वीकृति दिएको थियो । आयोगले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार समानुपातिकतर्फ हिजो बन्दसूची पेस गर्ने अन्तिम समय रहेकोमा रातभर नै यस सम्बन्धी काम भएको छ । पेश भएका समानुपातिकतर्फको बन्दसूचीका बारेमा आजदेखि २० गतेसम्म छानबिन गरिने आयोगका प्रवक्ता यज्ञप्रसाद भट्टराईले बताए ।