काठमाडौं । अहिले कलिला युवाहरुदेखि बृद्धसम्मा भोला, सुर्तीलगायतका सुर्तीजन्य पदार्थ सेवन बढी गरेको देखिन्छ । भविश्वका कर्णधार मानिएका विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीसमेत यसबाट अछुतो देखिदैनन् । कसैले लुकिछिपी गरेको देखिन्छ भने कसैले खुलेआम यो कुलतमा फसेको हामीले आफ्नै अगाडि देखेका छौं ।

एकहिसावले भन्ने हो भने सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनमा सरकारको भूमिका नै फितलो देखिन्छ । नियमले स्कुल कलेज नजिक सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न निषेध गरेको छ । तर स्कुलकै अगाडि पसलहरुमा यस्ता पदार्थ विक्री वितरण हुदै आएका छन् । यसको नियन्त्रण कसले गर्ने ?

स्वास्थ्य मन्त्रालयको तथ्यांकले नेपालमा सुर्तीजन्य पदार्थ सेवनबाट लाग्ने रोगबाट वर्षेनी ३९ हजार नागरिकले ज्यान गएको देखिन्छ । यति मात्रै होइन, सुर्तीजन्य पदार्थ सेवनबाट लाग्ने रोगको उपचारमा राज्यको मात्र वार्षिक ५५ अर्ब खर्च हुने गरेको छ । जुन सरकारले सुर्तीजन्य पदार्थबाट असुली गर्ने राजस्वबाट हुने आम्दानीभन्दा दोब्बर हो ।

सन् २०२४ मा ३९ हजार दुई सयको ज्यान जाँदा त्यसअघि सन् २०२२ मा २८ हजार ११० को मृत्यु भएको थियो । त्यस्तै, सन् २०१९ मा २४ हजार आठ सय, सन् २०१८ मा २७ हजार २३७ जनाको मृत्यु भएको थियो ।

क्यान्सरमध्ये ९० प्रतिशत त सुर्तीजन्य पदार्थ सेवनका कारणले नै हुने गरेको देखिन्छ । यसलाई समयमा गम्भीर रुपमा लिइएन भने निकट भविश्यमा मानव स्वास्थ्यमा ठूलो संकट निम्त्याउने देखिन्छ ।