काठमाडौँ । विश्व भोकमरी सूचकाङ्क (जिएआई) मा नेपाल गम्भीरबाट मध्यम स्तरको भोकमरीको अवस्थामा पुगेको छ । जिएआईले मङ्गलबार जारी एक प्रतिवेदनमा नेपालले भोकमरीको समस्या समाधानमा सुधार गर्दै लिएको देखिएको छ ।
वेल्ट हङ्गर हिल्फ र लिबर्डले मङ्गलबार सार्वजनिक गरेको विश्व भोकमरी सूचकाङ्क २०२५ प्रतिवेदनमा नेपाल ‘मध्यम भोकमरीको श्रेणीमा’ रहेको हो । सन् २००० मा जिएचआई अङ्क ३७.१ सहित नेपाल ‘गम्भीर भोकमरी’ भएको देशको श्रेणीमा रहेको थियो ।
प्रतिवेदन अनुसार यस वर्ष नेपालको जिएचआई अङ्क १४.८ रहेको छ । यसले नेपाल मध्यम खालको भोकमरीको श्रेणीलाई जनाउँछ । सरकारले गरेको नीतिगत सुधारसँगै रेमिट्यान्सका कारणले गर्दा पनि भोकमरी सूचकाङ्कमा सुधार आएको तथ्याङ्कले देखाएको छ ।
नेपालले दुई दशकयता भोकमरी न्यूनीकरणमा उल्लेखनीय प्रगति गरे पनि कुपोषण र बालबालिकामा हुने पुड्कोपनाको समस्या अझै चुनौतीपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ । विश्व भोकमरी सूचकाङ्क २०२५ अनुसार सूचकाङ्क ३१ सहित सबैभन्दा धेरै भोकमरी पपुवान्युगिनीमा र सूचकाङ्क पाँचसहित सबैभन्दा कम भोकमरी चीनमा रहेको छ । छिमेकी मुलुक भारतमा भोकमरी सूचकाङ्क २५.८ रहेको छ । विश्व भोकमरी सूचकाङ्क भने १८.३ र दक्षिण एसियामा २४.९ रहेको छ । जलवायु परिवर्तन, प्राकृतिक विपत् र युद्धका कारणले विश्वमा भोकमरी हुने गरेको छ ।











