काठमाण्डौ, १९ साउन
नयाँ प्रधानमन्त्री छनोट गर्न आज व्यवस्थापिका–संसद्मा निर्वाचन हुँदै छ । संविधानको धारा २९८ को उपधारा ३ अनुसार संसदमा आज बिहान ११ बजे प्रधानमन्त्रीको निर्वाचन हुन लागेको हो । प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मात्र उम्मेदवारी दर्ता भएको छ । Samsad

प्रचण्डको प्रस्तावकमा कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा र समर्थनमा १६ दलले समर्थन गरेका छन् । व्यवस्थापिका–संसद् नियमावलीको नियम ४९ को उपनियम ४ अनुसार प्रधानमन्त्रीका एक्ला उम्मेदवार प्रचण्डले आफ्नो उम्मेदवारीको सूचना संसद् बैठकमा प्रस्तुत गर्नेछन् । प्रस्तावक र समर्थक सदस्यले समर्थन गर्नेछन् ।

प्रस्तावक र समर्थकले बोलेपछि सभामुखबाट निर्णयार्थ प्रस्तुत हुनेछ । सभामुखले उम्मेदवारको पक्ष र विपक्षका सदस्यलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्षमा प्रवेश गराएर मत विभाजन हुनेछ । मत विभाजन गर्दा संसदमा तत्काल कायम सदस्य संख्याको बहुमत दुई सय ९८ मत ल्याउनुपर्ने हुन्छ ।

मत विभाजनपछि सभामुखबाट मत परिणामसँग प्रधानमन्त्री निर्वा्चित भएको घोषणा हुनेछ । नेकपा एमालेले प्रधानमन्त्रीमा उमेदवार उठाएको छैन । उसले कांग्रेस माओवादी गठबन्धनका उमेदवारको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।।