घोराही घोराही उपमहानगरपालिकासहितको संयुक्त बजार अनुगमन टोलीले आज आइतवार घोराही पद्मोदय नमुना मावि र महेन्द्र बहुमुखी क्याम्पस आसपासका डेरी, किराना तथा खाजा नास्ता पसलहरुको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा जेरीमा जथाभावी अप्राकृतिक रङ मिसाइएको, समोसा, पकौडा, प्रयोग गर्न नमिल्ने खराब तेल, म्याद गुज्रेका किरानाजन्य सामानहरु, म्याद गुज्रेका पाउरोटीहरु, पेन्टको बाल्टिनमा भण्डार गरी राखिएका दुग्धजन्य पदार्थहरु, कुहिएका मासुहरु, लेभल नभएका कीमा नुडल्स र चीज पाउडर लगायतका समान फेला परेका थिए ।
यस्ता करिव ६ हजार बराबरका सामानहरु अनुगमन स्थलमै नस्ट गरिएको छ । सो क्रममा आम उपभोक्ता मैत्री हुने गरी स्वस्थ र गुणस्तरीय खाद्य पदार्थहरुको बिक्री वितरण गर्न व्यवसायीहरुलाई आवश्यक निर्देशन प्रदान गरिएको थियो । साथै, दर्ता नगरी सन्चालन गरिएका त्यस्ता व्यवसायहरुलाई ७ दिनभित्र सम्बन्धित निकायमा व्यवसाय दर्ता गरी व्यावसयिक मापदण्ड पूरा गरेर मात्र व्यवसाय गर्न निर्देशन दिइएको छ ।
उक्त अनुगमन घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर, जिल्ला प्रशासन कार्यालय दाङ, उद्योग वाणिज्य संघ दाङ , वडा प्रहरी कार्यालय , घोराही उपमहानगरपालिकाको राजस्व व्यवस्थापन शाखा, पत्रकार महासंघ दाङ र घोराही नगर प्रहरी सहितको उपस्थितिमा गरिएको थियो ।











