काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसारको समयसीमामा विश्वासको मत आर्जन गर्न नसक्ने देखिएपछि मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार राजीनामा गरेका छन् । यससँगै मधेशमा आगामी शुक्रबार साँझसम्म नयाँ सरकार गठन हुने गरी प्रक्रिया अगाडि बढेको छ ।

२८ असोजयता मात्र जनमतका सतिशकुमार सिंह, लोसपाका जितेन्द्र सोनल र एमालेका सरोजकुमार यादव नेतृत्वको सरकार ढलेका हुन् । जेन–जी आन्दोलनका क्रममा २४ भदौमा पदबाट राजीनामा घोषणा गरे पनि पछि पद छाड्न नमानेका सिंहलाई उनकै दल जनमतले साथ नदिएपछि २८ असोजमा राजीनामा दिएका थिए । उनी २२ जेठ ०८१ मा मुख्यमन्त्री बनेका थिए ।

त्यसपछि कांग्रेस र एमालेलाई बाहिर राखेर जसपा, जनमत, माओवादी, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका ५७ सांसदको समर्थनमा चौथो दल लोसपाका सोनल २९ असोजमा मुख्यमन्त्री बने । सरकार बचाउन उनलाई संसद्मा ५४ सांसदको समर्थन चाहिन्थ्यो । तर, माओवादीको आन्तरिक विवाद र जनमत विभाजनले मुख्यमन्त्री सोनलले विश्वासको मत सिद्ध गर्न सक्ने अवस्था रहेन । त्यसपछि उनले २२ कात्तिकमा पदबाट राजीनामा दिए ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुपर्ने हुन्छ । तर, तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८९३० बमोजिम संसद्को सबैभन्दा ठुलो दल एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई २३ कात्तिकमा मुख्यमन्त्री नियुक्त गरिन् र भोलिपल्ट बर्दीबासको होटेलमा शपथ खुवाइन् । यो घटनाले संसद्को दोस्रो ठुलो दल कांग्रेस पनि विपक्षी गठबन्धनमा लागेपछि यादव नेतृत्वको सरकार जोगाउन बहुमत रहेन ।

एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री बनाउने प्रक्रियालाई लिएर सर्वोच्च अदालतमा मुद्दा नै पर्‍यो । सर्वोच्चले सोमबार परमादेश जारी गर्दै आदेश प्राप्त भएको २४ घण्टाभित्र विश्वासको मत लिन र विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा १६८९२० बमोजिम सरकार गठनको प्रक्रिया अगाडि बढाउन भन्यो । यादवले विश्वासको मत नपाउने भएपछि बुधबारको प्रदेश सभा बैठकमा राजीनामा घोषणा गरे । नयाँ पत्रिबाट