काठमाडौं । फ्रेन्चाई लिगको नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार सुरु हुँदैछ ।

दोस्रो एनपिएलको सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर २७ गते उपाधि भिडन्त हुने छ । यस पटक कुल ३२ खेल हुने छन् । क्यानले गत वर्ष एनपिएलका लागि आठ सहरका नाममा टिम छुट्याएर बिक्री गरेको थियो ।

विगतकै टिमहरू च्याम्पियन जनकपुर बोल्ट्स, गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्ने छन् । सबै टिमले टिम अक्सन र विश्वका सुपरस्टार क्रिकेटरहरू आबद्ध गरेर एकसे एक टिम तयार पारेका छन् ।

हरेक टिमसमक्ष कम्तीमा चारदेखि अधिकतम छ जनासम्म विदेशी खेलाडी टिममा राख्न पाउने प्रावधान छ । यस पटक फाप डुप्लेसिस, जेसन रोय, वायने पार्नेल, क्रिस लिन, इमरान ताहिर जस्ता सुपरस्टार विदेशी खेलाडी पनि थपिएका छन् । दोस्रो एनपिएलको पहिलो खेलमा सोमबार साँझ ४ बजे च्याम्पियन जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच हुदैछ ।