काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी ओलीले पार्टीको नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । शुक्रबार भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकमा बहुसंख्यक पदाधिकारीले जेन–जी आन्दोलनका घटनाप्रति नैतिक जिम्मेवारी लिँदै र कमजोरी स्वीकार गर्दै अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित बहुमत पदाधिकारीले जेन–जी आन्दोलनपछिको विकसित परिस्थितिमा पार्टीलाई पुनर्गठन गरी नयाँ दिशातर्फ लैजान ओलीले अध्यक्षबाट मार्गप्रशस्त गर्नुपर्ने प्रस्ताव गरे ।
बैठकमा पदाधिकारीहरूले जेन–जी आन्दोलनका कारण पार्टीको जनसमर्थन र सार्वजनिक छविबारे पनि आत्मसमीक्षा गर्न आवश्यक रहेको बताएका थिए। वरिष्ठ उपाध्यक्ष पोखरेलबाट सुरु भएको बोल्ने क्रम ६ उपाध्यक्ष, महासचिव हुँदै उपमहासचिव प्रदीप ज्ञवालीले धारणा राखेपछि आज शनिबार पुनः बस्ने गरी स्थगित भएको छ ।
