सल्यान । सल्यानका तीन स्थानीय तहले दशैं–तिहारमा प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएका छन् ।
जिल्लाका शारदा नगरपालिका, त्रिवेणी गाउँपालिका र कुमाख गाउँपालिकाले प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएका हुन् । वातावरण संरक्षण र स्थानीय किसानलाई प्रोत्साहन दिने उद्देश्यले प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको सम्बन्धित पालिकाहरुले बताएका छन्।
किसानले उत्पादन गरेको फूललाई बजार उपलब्ध गराउन प्लास्टिकका फूलमालामा रोक लगाइएको शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश शमाले बताए । नगरपालिकाले प्लास्टिकजन्य फूलमाला बिक्री वा प्रयोग गर्नेहरूलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
त्यस्तै त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले वातावरण संरक्षणलाई प्राथमिकता दिँदै प्लास्टिकजन्य माला मात्र होइन, अन्य पटकाजन्य वस्तुको उत्पादन र बिक्रीमा पनि पालिकाले रोक लगाएको जानकारी दिए ।











