काठमाडौं । शुक्रवार साँझदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक ४६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । चितवनको तुइनखोलामा माथिबाट खसेको पहिरो हटाएसँगै सडक एकतर्फी खुलेको हो ।

सडक डिभिजन कार्यालय भरतपुर चितवनका अनुसार सडक दुईतर्फी नै खुलाउन पहिरो पन्छाउने काम भइरहेको छ ।
एकतर्फी सडक खुलेपछि रोकिएका गाडी र यात्रु विस्तारै गन्तव्यतर्फ लाग्न थालेका छन् । गाडी चालकलाई हतार नगर्न र लेन अनुशासनको पालन गर्न डिभिजन सडक कार्यालयले आग्रह समेत गरेको छ ।

वर्षाका कारण सडक अवरुद्ध हुन सक्ने, सडक माथिबाट ढुङ्गासहितको पहिरो झर्न सक्ने जोखिम हुने हुँदा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न विभागको अनुरोध छ ।