चितवन । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक तीनदेखि ठप्प छ । शुक्रबार साँझदेखि सडक अवरुद्ध हुँदा राजधानी काठमाडौंलाई पूर्व-पश्चिम महेन्द्र राजमार्ग भएर आवतजावत गर्ने सवारी विचमै रोकिएका छन् । दसैँको मुखमा घर जाने यात्रुहरू बाटोमै रोकिएका छन्। जिल्ला ट्राफिक कार्यालयले पहिरोका कारण विभिन्न टाउँमा परेर साढे ११ हजार गाडीहरू सडकमै फसेको जनाएको छ ।

शनिवार सडक खुला प्रयास भएपनि खुल्न सकेन । पहिरोले अवरुद्ध झन्डै डेढ सय मिटर सडक खुलाउने प्रयास शनिबार रातिसम्म सफल नभएपछि हजारौँ यात्रु बिचल्लीमा परेका छन् । मुग्लिङ बजारदेखि करिब दुई किलोमिटर दक्षिणपट्टि रहेको चितवनको इच्छाकामना गाउँपालिका– ६ स्थित तुइन खोला पुलछेउमा पहिरो गएपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो । शुक्रबार साँझदेखि नै सडक खुलाउन पहल थाले पनि निरन्तर ठुल्ठुला ढुंगासहित पहिरो खसेपछि काम अघि बढ्न सकेन । शनिबार वर्षा नभए पनि सुक्खा पहिरो थियो ।

सडक खुलाउन नारायणगढपट्टि दुई र मुग्लिनपट्टि तीन गरेर पाँच वटा मेसिन परिचालन भएका थिए । शनिबार साँझ साढे ६ बजेतिर सडक खुलाउन अधिकांश काम सकिए पनि पुनस् ठुला ढुंगासहितको पहिरो खस्दा समस्या भएको चिवतनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।