काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकले फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल सूचीकरणका लागि सात दिनको समय तोकेको छ ।
सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जबाफदेही बनाउन सात दिनको म्याद दिई सूचीकरणका लागि सार्वजनिक रूपमा आह्वान गर्ने’ मन्त्रिपरिषद्ले निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।
सात दिनभित्र सूचीकरण हुन नआउने वा सूचीकरणका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराउँदै लैजाने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। यसअघि २०८१ चैत ७ गते अन्तिमपटक भन्दै नेपालभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्मलाई ३० दिनभित्र सूचीकरण हुन सार्वजनिक सूचना जारी गरेको थियो । त्यसपछि पनि सरकारले पटक–पटक सूचीकरणका लागि आग्रह गर्यो ।
तर, सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० बमोजिम कुनैै पनि सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक सूचीकृत हुन नआएको मन्त्रालयले जनाएको छ । २०८२ वैशाख ३१ पनि मन्त्रालयले पुनः सूचना प्रकाशित गरेको थियो ।











