काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिराखेकाले देशभर साधारणतया बदली रहने छ। बिहान बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

मंगलबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानहरूमा र मधेस प्रदेशको तराईको एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति कोशी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको पहाडी तथा तराई भू–भाग लगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहेकाले वर्षाको सम्भावना छ ।