इन्द्रेणी संवाददाता
दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५ भिमसेन टोलका तीन वटा पसलमा चोरी भएको छ । गएराति जिल्ला अदालतदेखि भिङ्ग्रेली चोक पूर्व–पश्चिम जोड्ने सडकमा सञ्चालनमा रहेका सुवेदी खाजा घर, सुवेदी फ्रेस हाउस र त्यो सँगै सटेको पवन कुमार डाँगीले सञ्चालन गर्दै आएको कपाल काट्ने (La Bellesa Unisex Sallon) पसलमा चोरी भएको हो ।

चोरले पसलका सटरमा लगाएको ताला फोडेर कपाल काट्ने पसलबाट ४० हजार रुपैयाँ चोरी गरेको छ भने सुवेदी खाजा घर र फ्रेस हाउसबाट पनि केही नगद र सामान चोरी गर्नुका साथै नास्ता पसलमा राखेका खानेकुरा खाएर जथाभावि गरेको छ । यतिसम्म कि चोरले नास्ता पसलमा राखेको खानेकुरा खाएर पसलमै दिसा गरिदिएको छ ।

चोरले पसलमा गल्ला फोडेर नगद चोरी गर्नुका साथै पसलमा राखेका सामानहरु छरपष्ट पारेको छ । चोरले रातको समयमा सरियाको प्रयोग गरेर पसलका ताला तोडफेड गरेको छ । चाडपर्व नजिकिदै गर्दा चोरीका घटनाहरु बढ्दै गएका छन् ।