काठमाडौं । ललितपुरस्थित मितेरी सेभिङ एन्ड क्रेडिट सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङलाई उन्मुक्ति दिँदै आइतबार जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरिएको छ । जबकि, सिआइबीको अनुसन्धानका क्रममा सहकारीको रकम अपचलनमा प्रत्यक्ष संलग्नता खुलेपछि धनराजलाई बचतकर्ताको ३० लाख फिर्ता गर्न लगाएर उन्मुक्ति दिने प्रपञ्च रचिएको खुलेको छ । सहकारीका अध्यक्षसहित आठविरुद्ध भने साढे तीन करोडदेखि ६ अर्ब ७४ करोड ३२ लाख ६९ हजारसम्म बिगो दाबी गरिएको छ ।
मितेरीकी बचतकर्ता कमला गुरुङले जानकारी नै नदिई आफ्नो खाताबाट धनराजले सिधै ५० लाख लगेको र हारगुहार गर्दा पनि ३० लाख फिर्ता नगरेको बयान सिआइबीलाई दिएकी थिइन् । सहकारीकी महाप्रबन्धकसमेत रहेकी धनराजकी तत्कालीन पत्नी ज्योति गुरुङसँगको मिलेमतोमा आफ्नो रकम लगिएको उनको भनाइ थियो । यसबाट रकम हिनामिनामा धनराजको पनि प्रत्यक्ष संलग्नता खुलेको थियो ।
तर, प्रहरीबाट त्यो सूचना धनराजसम्म पुग्यो । त्यसपछि धनराजले गत २३ वैशाख ०८२ मा चेकमार्फत ३० लाख कमलालाई रकम भुक्तानी गरे । जब कि प्रहरीले आठ महिनाअघिदेखि उनीमाथि अनुसन्धान गरिरहेको थियो । सुरुमा कमलाले हिनामिनामा धनराजको पनि संलग्नता खुलाएकोमा पैसा फिर्ता पाएपछि ‘धनराजसँग कुनै लेनदेन छैन’ भनेर पछि प्रहरीमा अर्को कागज गरेको आइतबार जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा उल्लेख छ ।
उनले सुरुमा सिआइबीमा गरेको घटना विवरण कागजमा भनेकी छिन्, ‘मेरो मुद्दती खातामा रहेको एक करोडमा मेरो उल्लेखित ऋणको हिसाब मिलान गरी बाँकी रहेको ज्योति गुरुङको श्रीमान् धनराज गुरुङले विभिन्न मितिमा पटकपटक गरी जम्मा पचास लाख रुपैयाँ निकालेर लगेको कुरा लेखापाल विजय राईले भनेपछि थाहा पाएँ । सो मुद्दती रकम पचास लाख रुपैयाँमध्ये ज्योति गुरुङले निजलाई रकम आवश्यक परेको भनी तीस लाख रुपैयाँ निजको श्रीमान् धनराज गुरुङलाई दिन हुन भन्ने व्यहोराको निवेदन मलाई दस्तखत गर्न लगाएकी थिइन् र पछि यस सम्बन्धमा के भयो भनी सोध्दा सहकारी संस्थाले रकम नदिएको हुँदा उक्त निवेदनको काम भएन, च्यातेर फालेको भनेकी थिइन् । पछि म ज्योति गुरुङसँग सिंगापुरमा हुँदा ज्योति गुरुङले रकम चाहिएकोले मेरो मुद्दती खातामा भएको रकमबाट बीस लाख रुपैयाँ सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङलाई ज्योति गुरुङको श्रीमान् धनराज गुरुङलाई दिनु भनेको थिएँ । यसरी धनराज गुरुङले मेरो मुद्दती खातामा रहेको पचास लाख रुपैयाँ सबै निकालेको कुरा सहकारी संस्थाका अध्यक्षले भनेपछि थाहा पाएँ ।’
कमलाको यो विवरणका आधारमा धनराज आफैँले सहकारीबाट गैरकानुनी रूपमा ५० लाख रुपैयाँ लगेको देखिन्छ । यसबाट उनीमाथि मुद्दा चल्ने आधार बनेपछि धनराजले ३० लाख रुपैयाँ कमलालाई दिएका थिए । नयाँ पत्रिकाबाट











