काठमाडौं । आज श्रीकृष्णजन्माष्टमी पर्व । भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

आज देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने चलन छ ।

भगवान कृष्ण हिन्दू धर्म शास्त्रकाअनुसार भगवान विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार मानिन्छन् । उनको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो।

श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका भनिन्छ। त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकाले उनलाई गोपाल तथा नन्दलाल नामले पनि जानिन्छ।

श्रीकृष्णका एक दाजु बलराम नन्द गोपालका सुपुत्र थिए। हिन्दू धार्मीक ग्रन्थकाअनुसार भगवान श्रीकृष्णको जन्म द्वापरांतमा भएको पाइएको छ।