इन्द्रेणी संवाददाता
दाङ । दाङमा बाह्र हजारलाई कोभिड–१९ को खोप लगाउन लागिएको छ । आगामी भदौ २ गतेदेखि ४ गतेसम्म रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई १२ वर्ष माथिका बालबालिका, वयस्क र ज्येष्ठ नागरिकलाई खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज शुक्रवार घोराहीमा पत्रकारहरुसँग अभिमुखीकरण कार्यक्रम गर्दै खोपको बारेमा जानकारी दिएको हो ।

कार्यक्रममा नेपालमा पछिल्लो समयमा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन भेरियन्ट’ विरुद्ध यो खोप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख ठगबहादुर गुरुङले जानकारी दिए । जसका लागि जिल्ला दशवटै पालिकामा विभिन्न ९५ वटा खोप केन्द्र ताकिएको छ । जसमा घोराही उपमहानगरपालिकामा १५ वटा, तुलसीपुरमा २५ वटा, लमहीमा ८, राप्ती गाउँपालिकामा ९, गढवा गाउँपालिकामा ९, राजपुर गाउँपालिकामा ४, वंगलाचाली गाउँपालिकामा ८, बबई गाउँपालिकामा ४, शान्तिनगर गाउँपालिकामा ५ र दंगीशरण गाउँपालिकामा ७ वटा खोप केन्द्र तोकिएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानु ज्योती ओलीले जानकारी दिए ।

सो अवसरमा फोकल पर्सन ओलीले जिल्लामा विगतको कोभिड–१९ को खोपको अवस्था, अहिले दिन लागिएको कोभिड–१९ खोपको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा प्रमुख गुरुङले कोभिडका विभिन्न भेरियन्टबाट वच्ने एक मात्र उपाय शरीरमा यससँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता बढाउनु भएको र यसको उपाय खोप नै भएको भन्दै यो अभियानमा जोडिन सबैलाई आग्रह गरेका थिए । साथै अभियानलाई सफल पार्न सञ्चारकर्मीहरुलाई सकारात्मक भूमिका निर्वाह गरिदिन समेत उनको आग्रह थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले यो खोपको फाइदाका बारेमा जनस्तरमा जनचेतना फैलाउदै लैजान आवश्यक भएको र यसबारे सबैलाई जानकार गराउन सकेमा मात्रै अभियानले सार्थकता पाउने बताएका थिए ।