जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–२ टालेगाउ स्वास्थ्य चौकीले गर्भवती महिलाहरुका लागि अल्ट्रासाउन्ड (भडियो एक्सरे) सेवा सञ्चालनमा ल्याएको छ ।
टालेगाउ स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर बस्नेतले केयर नेपालको आर्थिक सहयोग तथा कुशे गाउँपालिका स्वास्थ्य शाखा र स्वास्थ चौकी टालेगाउको समन्वयमा उक्त सेवा संचालनमा ल्याइएकोे बताए ।
स्वास्थ्य चौकी टालेगाउमा कुशे– १ र २ का गर्भवती तथा सुत्केरी महिलाहरुका लागि ग्रामीण अल्ट्रासाउन्ड (भिडियो एक्सरे) सेवा वडा नं २ का वडा अध्यक्ष मानबहादुर सिंहले औपचारिक रूपमा उद्घाटन गरे ।
यो सेवा सञ्चालनसँगै यस क्षेत्रका गर्भवती तथा सुत्केरी आमाहरुलाई सहज हुने छ । यहाँ अल्ट्रासाउन्ड सेवा नहुँदा गर्भवती तथा सुत्केरीहरु एक दिनको यात्रा गरेर सदरमुकामको जिल्ला अस्पतालसम्म पुग्नु पर्ने बाध्यता थियो ।











