काठमाडौं । गएको मंगलबार र बुधबार भारतको उत्तराखण्ड राज्यमा आएको बाढीपहिरोपछि जाजरकोटका १३ जना र बर्दियाका ५ जना सम्पर्कविहीन छन् । मंगलबार “क्लाउड बर्स्ट” का कारण उत्तरकाशी जिल्लाको धराली बजारमा बाढी आएको थियो भने बुधबार पौडी गढवालमा पहिरो गएको थियो ।
जाजरकोटको कुशे गाउँपालिका—२ का १३ जनाभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएको स्थानीय तहले उद्धारको पहल गरेको छ । गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार पालिकाका अन्य वडाका व्यक्ति पनि हराएको आशंका छ ।
कुशे गाउँपालिकाका–२ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निम सिंह, रविन सिंहको मृत्यु भएको मानबहादुर सिंहका छोरा नवीनले जानकारी गराएका छन् । २१ वर्षका नवीन बुवासँगै काम गर्न गएका थिए । उनीसँगै सोही वडाका अनुमानित २० जना काम गर्दै आएको नवीनले जानकारी दिएको वडाध्यक्ष मानबहादुर सिंहले बताए ।
यस्तै जुम्ला तिला गाउँपालिकाका जनकबहादुर शाही र रुकुम घर भएका नाम नखुलेका अर्का एक जना पनि बाढीपछि सम्पर्कविहीन छन् । स्थानीयहरू मजदुरी र स्याउ बोक्न बर्सेनि भारत जाने गरेको गर्दछन् । नेपालीहरू यी दुवै घटनामा परेको अनुमान गर्दै स्थानीय तहहरूले सहयोगका लागि नेपाल सरकारलाई आग्रह गरेका छन् ।












